अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनः अध्यक्षमा ५ जनाको दावी
मकवानपुर । अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको २३ औं सम्मेलन भोलि असार १४ गते हेटौंडामा हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत् भोलिको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो ।
सम्मेलनको उद्घाटन सत्रमा अखिल क्रान्तिकारीका केन्द्रीयस्तरका नेताहरु, बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज विजय गौतमलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु र सयौँ विद्यार्थीहरुको उपस्थिति रहने अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।
सम्मेलन हेटौंडाको पल्पसा होटलमा भोलि विहान ११ बजेबाट सुरु हुने उनले बताए ।
अध्यक्षमा ५ जनाको दावी
अखिलको भोलि हुने सम्मेलनले नयाँ कमिटी चयन गर्ने जनाइएको छ । सकेसम्म सहमतिको प्रयास हुने र सहमति जुट्न नसकेको अवस्थामा लोकतान्त्रिक अभ्यास अनुसार अघि बढ्ने अध्यक्ष बर्तौलाले बताए ।
कूल २३० जना मतदाता रहेको र नयाँ कमिटी ४१ देखि ६१ जनासम्मको बन्ने उनले बताए ।
अध्यक्षका लागि जिल्ला कोषाध्यक्ष बुद्धराज अर्याल, जिल्ला कार्यालय सदस्य दिपक वाइवा, जिल्ला सहसचिव राजेन्द्र मुक्तान, जिल्ला वरिष्ठ उपाध्यक्ष अन्जु तुम्सिङ मगर र जिल्ला सचिवालय सदस्य तथा मकवानपुर क्याम्पसका स्ववियू सभापति छोइसाङ लामाले दावी गरेका छन्. ।
इतिहासमा नै पहिलो पटक अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको सभापति जितेपछि अखिलको नेतृत्वमा होडबाजी नै चलेको छ ।
