बागमतीमा रोकियो बजेटः अध्यक्षले मनोमानी गरेको भन्दै उपाध्यक्षद्वारा कार्यक्रम बहिस्कार
मकवानपुर । बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि आज प्रस्तुत गर्ने भनिएको बजेट उपाध्यक्षसहित वडाध्यक्षहरुको असन्तुष्टिपछि रोकिएको छ ।
अध्यक्ष सर्केश घलानको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना र केही वडाध्यक्षहरुले आजको गाउँसभा बहिस्कार गरेपछि बजेट प्रस्तुत गर्ने कार्यक्रम रोकिएको हो । यद्यपी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे भने अध्यक्ष सर्केश घलान सभालाई जानकारी गराएकोे प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जानकारी दिए ।
गाउँपालिकामा अध्यक्ष घलानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा उपाध्यक्ष फनिन्द्र तिमिल्सना सहित क्रमश ६ नम्वर वडा अध्यक्ष टेकबहादुर डिमडुङ, ७ का अध्यक्ष उत्तरबहादुर भोलन, ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना, ९ का अध्यक्ष पुनराम घलान र कार्यपालिका सदस्य डम्बर बहादुर विकले संयुक्त रुपमा अध्यक्ष घलानले मनोमानी गरेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी ढङ्गले नेपालको संविधान २०७१ र स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए विपरित उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यको हक अधिकारमा प्रत्यक्ष हस्तक्षेप गरेको असन्तुष्ट पक्षको बुझाई छ ।
उनीहरुले उपाध्यक्षलाई समेत सिलिङ बजेट राख्नुपर्ने, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यको हक अधिकारमा हस्तक्षेप गर्न नहुने, गाउँपालिकाले करार कर्मचारी नियुक्ति गर्दा प्रदेश र संघको बजेट प्रयोग गर्न नपाउने । यदी करारको कर्मचारी पालिकाले नियुक्ति गरेमा आन्तरिक स्रोतबाट तलबभत्ता दिनुपर्ने र क्रसर उद्योगको नाममा विनियोजन गरिँदै आएको बजेट आव २०८१÷०८२ बाट रोकिनुपर्ने माग राखेका छन् ।
अध्यक्ष घलानले मनोमानी गरिरहे आफुहरु चरणवद्ध आन्दोलनमा जाने उपाध्यक्ष तिमल्सिनाले बताए ।
