सुरक्षा निकायका प्रमुख र १३ जिल्लाका प्रजिअ हेटौंडामा

तु खबर संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १२:४२

मकवानपुर । प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौंडामा भेला भएका छन् । हेटौंडा–२ स्थित होटल एभोकाडोमा दिउँसो ३ बजेबाट सुरु हुने बागमती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको वैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने भएका छन् ।

बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेशअन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी हुँदैछन् । जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था रहेको छ ।

प्रदेश समन्वय समितिको बैठक यसअघि ६ वटा प्रदेशमा सम्पन्न भइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए ।

बैठकको उद्घाटन सत्रमा गृहमन्त्री रवि लामिछाने आउने बताइए पनि अन्तिम समयमा आएर उनी नआउने भएका छन् । गृहमन्त्री लामिछाने बुधबार मात्र हेटौंडा आउने बताइएको छ । ‘गृहमन्त्रीज्यूले बैठकलाई भोलि सम्बोधन गर्नुहुनेछ । भेलाको तयारी पूरा भइसक्यो,’ प्रजिअ सेढाईंले भने । उनका अनुसार प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ, संघीय गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रवक्ता नारायण भट्टराई तथा राष्ट्रिय परिचय पत्र विभागका प्रमुख युवराज कट्टेललगायतले बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विशेष गरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ । ‘शान्ति सुरक्षा कायम गर्न समाजमा गरिएको नवीन कार्य, सुरक्षा थ्रेडको अवस्थालगायत विषयमा वैठकमा छलफल हुनेछ,’ प्रजिअ सेढाईंले भने । बैठक दुई दिनसम्म चल्नेछ ।