गृहमन्त्रीको राजीनामा माग
काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो । बैठक सुरु भएलगत्तै सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न समय दिएपछि कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको भन्दै लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।
अनुसन्धानको घेरामा रहेका व्यक्तिलाई अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने उनको भनाई छ । ‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ उनले भने, ‘अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? पीडितहरुको विश्वास जित्न नसकेको सरकारले कसरी वित्तीय संकटलाई समाधान गर्न सक्छ ?’
३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी संचालकको बचतबाट आफूहरुको बचत फिर्ता दिलाउन माग गरिरहेको भनी यसमा सरकार गम्भीर हुनुपर्ने बताए ।
यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि उनको माग छ ।
