मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी

तु खबर संवाददाता
२०७९ फाल्गुन २९, सोमबार १८:३४

मकवानपुर । राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार १६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलनको गरेर जिल्लाको १० वटै स्थानीय तहमा गरी उक्त संख्यामा भूमिहीन सुकुम्वासी रहेको जानकारी गराएको हो ।

मकवानपुरमा १० वटै स्थानीय तहमा ३७९ जना भूमिहीन दलित, २ हजार ४६३ जना भूमिहीन सुकुम्वासी तथा ३३ हजार ३२६ जना अव्यवस्थित भूमिहीन बसोबासी रहेको र उनीहरुले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले जानकारी दिए ।

भूमिहीनहरुको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकोले उनीहरुले एक वर्षभित्र नै जग्गा प्रमाणपत्र लालापुर्जा प्राप्त गर्ने उनको भनाई छ । जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले त्यहाँको ३० जनाको जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको बताए ।