भूमिहीनले एक वर्षभित्रै लालपूर्जा प्राप्त गर्छन् : अध्यक्ष दाहाल

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार ०९:३७

मकवानपुर । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले एक वर्षभित्रै जग्गा धनी प्रमाणपत्र लालपूर्जा प्राप्त गर्ने बताएका छन् । अध्यक्ष दाहालले आइतबार हेटौंडामा भएको पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी गराएका हुन् ।

सम्मेलनमा अध्यक्ष दाहालले जिल्लामा आयोग गठन भएपछि आयोगले गरेको प्रगति विवरण सार्वजनिक गर्दै भूमिहीनले चालु आर्थिक वर्षमै जग्गा प्रमाण पत्र (लालपुर्जा)‚ प्राप्त गर्ने दाबी गरे । उनले जिल्लाको बागमती गाउँपालिकामा तीन भूमिहीन दलितले लाजपुर्जा प्राप्त गरिसकेको बताउँदै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको बताए ।

यसैगरी, आयोगका सदस्य सचिव समेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटै स्थानीय तहमा गरी ३ सय ७९ जना भूमिहीन दलित, २ हजार ४६३ जना भूमिहीन सुकुम्बासी र ३३ हजार ३२६ संख्याले अव्यवस्थित बसोबासीले जग्गा प्रमाण पत्रको लागि निवेदन दिएको बताए ।

आयोगका अनुसार, पहिलो चरणमा भूमिहीन दलित र सुकुम्बासीलाई लाजपूर्जा दिईने छ भने भने दोस्रो चरणमा अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिइने छ । अध्यक्ष दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, आयोगका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई लगायतको सहभागिता रहेको थियो ।