थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन, कुन प्रदेशमा कति थपिए ?
काठमाडौं । नेपाल सरकारले थप ४३ वटा जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार, थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको हो । प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार नै सपथ खुवाइसकेका छन् । यसअघि सरकारले २८ जिल्लामा भूमि आयोग गठन गरेको थियो ।
