बागमती प्रदेश : ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

तु खबर संवाददाता
२०७९ श्रावण २७, शुक्रबार १०:०१
फाइल तस्बिर

मकवानपुर । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रीपरिषद् बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको हो ।

मन्त्रालयको प्रस्ताव अनुसार, आर्थिक बर्ष ०७९/०८० का लागि स्वीकृत दरबन्दीमा मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्यावका जनशक्तिदेखि सवारी चालकसम्म छन् । मन्त्रीपरिषदबाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ जना, जनस्वास्थ्य प्रयोगशालामा १३ जना, स्वास्थ्य तालिम केन्द्रमा २ जना, आयुर्वेद औषधी उत्पादन केन्द्रमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ ।

त्यस्तै, प्रदेश अस्पतालमा स्तरोन्नती भएका ५ सहित १३ अस्पतालका लागि ४ सय ६९, १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि ५४ जना र १३ वटा स्वास्थ्य कार्यालयमा ४९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए । स्वीकृत दरबन्दी अनुसार पदपूर्तिको काम छिटै अघि बढ्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा सधैं नियमित र विपदका लागि तयारी अवस्थामा रहनुपर्ने भएकाले स्वीकृत दरबन्दी अनुसार पदपूर्तिलाई तिब्रता दिईने मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले बताए ।