विश्वविद्यालय स्थापनाका लागि बागमती प्रदेशद्वारा आवेदन माग
मकवानपुर । बागमती प्रदेश सरकार मातहत रहने गरी प्रदेश सरकारले विश्व विद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ । प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन पेश गर्न भनिएको छ ।
प्रदेश उच्च शिक्षा ऐन २०७८ ऐनअनुसार विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना प्रक्रिया अगाडि बढाएको हो । ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो ।
मन्त्रालय मातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौंडाको निर्णयअनुसार विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थालाई आवेदन माग गरिएको छ ।
सूचनाअनुसार प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले सूचना जारी भएको मितिले ३० दिन भित्रमा विश्वविद्यालय स्थापनाको लागि १ लाख रुपैयाँ राजस्वसहित आवेदन पेश गर्न भनिएको छ ।
