बागमती सरकारले महिला उद्यमीलाई प्रविधिका लागि बिउ पुँजी उपलब्ध गराउने

तु खबर संवाददाता
२०८० आश्विन १२, शुक्रबार ०९:०९

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको १३ महिला उद्यमीलाई प्राविधिका लागि बिउ पुँजी उपलब्ध गराउने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार, उद्यम गर्न चाहने प्रदेशको १३ महिलालाई आवश्यक प्रविधिका लागि बिउ पुँजी उपलब्ध गराउने भएको हो ।

मन्त्रालयले महिला उद्यमशीलता विकास वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन कार्यविधि २०७७ अनुसार इच्छुक महिला उद्यमीहरुसँग निवेदन गरिएको छ ।

व्यावसायिक कार्य योजनासहित निवेदन दिने म्याद १५ दिनको छ । मन्त्रालयले निवेदन दर्ता गर्न बिहीबार एक सूचना जारी गर्दै १५ दिनको समयसीमा तोकिएको थियो ।

महिला उद्यमी र महिला उद्यमी समूहले कार्यविधिको अनुसूची १ को ढाँचा बमोजिमको निवेदन साथ उद्योग– व्यवसाय दर्ता वा नवीकरणको प्रमाणपत्र‚ स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र‚ कर दाखिला गरेको प्रमाण वा कर चुक्ताको प्रमाणपत्र‚ आवश्यकताअनुसार व्यावसायिक इजाजतपत्र‚ व्यावसायिक योजना र माग गरेको प्रविधि र सो प्रविधिको क्षमता उल्लिखित विवरण संलग्न हुनुपर्ने मन्त्रालयले जनाएको छ ।