श्रमजीवी पत्रकार ऐन कार्यान्वयनबारे हेटौंडामा अन्तरक्रिया

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १२:२९

मकवानपुर । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका समस्याको विषयमा हेटौंडामा अन्तरक्रिया भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले श्रमजीवी पत्रकार कार्यान्वयनका बिषयमा पत्रकारहरुबाट आएको सुझावलाई ग्रहण गर्दै आफ्नो कार्यकालमा ऐन कार्यान्वयनको पहल गरिने बताइन् । उनले श्रमजीवी पत्रकार ऐनलाई व्यवहारिक कार्यान्वयनका लागि विज्ञहरूसँग परामर्श गरिसकिएको र ऐन परिवर्तनका विषयमा छलफल सुरु गरिसकिएको समेत जानकारी दिइन् ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार मर्यादित हुनुपर्ने भन्दै नजिकिँदै गरेको निर्वाचनमा निष्पक्षता देखाउन आग्रह गरेका छन् । उनले प्रेस काउन्सिलले पत्रकार हकहितका लागि सदैव काम गर्ने समेत बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले नेपाल पत्रकार महासंघले श्रमवीवी पत्रकारका लागि गरिने छलफल र बहसबाट हकअधिकार प्राप्त गर्न सहयोग पुग्ने भएकोले छलफल र बहसलाई निरन्तरता दिनुपर्ने बताए । उनले २०५१ सालमा जारी भएको श्रीमजीवी पत्रकार ऐन संशोधन गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा सहभागी पत्रकारहरुले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा समस्या समाधानको लागि मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिलले मिडिया निर्धारण गरिनुपर्ने, समस्यालाई समाधान गर्न दीर्घकालीन ७७ जिल्लामा अनुगमनको टोली परिचालन गरी तथ्याङ्क लिएर उपयुक्त नीति बन्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।