एमालेद्वारा स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा माग
मकवानपुर । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । मन्त्री खतिवडाले राजनीतिक पूर्वाग्रह राखेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि झुटो आरोप लगाएको भन्दै एमालेले उनको राजीनामा माग गरेको हो । उनले केही दिन अघि एक टेलिभिजन कार्यक्रममा मन्त्री खतिवडाले केपी ओली सरकारको नेतृत्वमा रहेको बेला ५ हजार तिरेर कोरोना खोप किनेर लगाउनु परेको बताएका थिए ।
एमालेले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले Batch no= 4120 Z 004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ । सांसदहरूका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ ।’
स्वास्थ्यमन्त्री खतिवडाको यो अभिव्यक्ति एमाले नेतृत्वको सरकारलाई बद्नाम गर्नका लागि मात्रै दिएको एमालेको दावी छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ । आम जनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको निन्दा र भत्र्सना गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन उचित नहुने विज्ञप्तिमा उल्लेख छ ।
