टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन
मकवानपुर । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजबाट प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालाहरुलाई निर्देशन दिएका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नम्वर–५ स्थित भोजशिद्ध माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले खोप पूर्ण रुपमा सुरक्षित भएकोले ढुक्क भएर आफ्ना बालबालिकाहरुलाई खोप अभियानमा सहभागि गराउन आग्रह गरे ।
उनले आजबाट प्रारम्भ भएको अभियान देशैभर वैशाख १८ गतेसम्म संचालन हुने बताउँदै यस अवधिमा १५ महिनादेखि १५ बर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप सेवा प्रवाह गरिने बताए । त्यसका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयम्सेवकको व्यवस्थापन मिलाइएको बताए । यो अभियान साझा भएकाले सबैले आफ्नै अभियान ठानेर आ–आफ्नो तर्फबाट सहयोग गरेमात्रै सफलता प्राप्त हुनेमा उनले जोड दिए ।
कार्यक्रममा मन्त्री खतिवडाले खोप र सिरिन्जको बाक्सा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भीमसागर गुरागाईँलाई हस्तान्तरण गरेसँगै खोप अभियान आजबाट प्रारम्भ भएको छ । खोप सामग्री ग्रहण गर्दै स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईँले तोकिएको समय अगावै मकवानपुरमा अभियानले पूर्णता पाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले खोप अभियानबाट मकवानपुरका मात्रै १ लाख ८ हजार बालबालिका लाभान्वित हुने जानकारी दिए । उनले अधिकाँश विद्यालयहरुलाई खोप केन्द्र बनाइएको र विद्यालय पुग्न नसक्ने बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर पनि खोप लगाउन सक्ने गरी प्रबन्ध मिलाइएको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले अभियानलाई पूर्णता दिन आ–आफ्नो तर्फबाट लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि विहिबार नै बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले र केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानलाई औपचारिक रुपमा सुभारम्भ गरिसकेका थिए । आजैबाट देशैभर खोप सेवा प्रवाह गरिने भएको हो ।
