मधुमेहका बिरामीलाई उपचारको दायरामा ल्याउछौँ: स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मधुमेहका विरामीहरु उपचारको दायरामा नपुगेको बताउँदै उनीहरुलाई उपचारको दायरामा ल्याउनका लागि सरकारले छिट्टै योजना बनाउने बताएका छन् । मन्त्री खतिवडाले एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लगायतका अल्पविकसित देशमा मधुमेहका बिरामी जनचेतनाको अभावका कारण स्वास्थ्य संस्था पुग्न नसकेको सुनाउँदै उनीहरुका लागि विशेष योजना ल्याइने स्पष्ट पारे ।
नेपालमा कुल मृत्युदर मध्ये झण्डै ४ प्रतिशत मधुमेहका बिरामी रहेका छन् । कार्यक्रममा बेलायतस्थित संस्था हेल्थ एक्सचेन्ड नेपालका महासचिव डा.सत्यन राजभण्डारीले मधुमेह नेपाल र स्वास्थ्यकर्मी र बिरामीका लागि मधुमेहसम्बन्धी सचेतना, सहयोग निरन्तर गर्दै आएको सुनाए ।
यस्तै, कार्यक्रममा मधुमेहको रोकथाम तथा व्यवस्थापन गर्नका लागि स्वास्थ्य व्यवसायीहरुले नयाँ प्रविधिलाई अनुशरण गर्नुपर्ने मधुमेह नेपालका महासचिव कैलाश प्रधानको भनाइ छ । यस्तै, कार्यक्रममा मधुमेह नेपालका अध्यक्ष रोशन कृष्ण न्याछयौंले स्वदेश र विदेशका स्वास्थ्यकर्मीको सहयोग र योगदानका कारण संस्था यहाँसम्म आइपुगेको बताए । सो समारोहमा मन्त्री खतिवडाले बरिष्ठ चिकित्सक प्राध्यापक डा। सजीव ढुंगेललाई लाइफटाइम एचिभमेन्ट अर्वाड प्रदान गरेका छन् ।
