पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्ने मन्त्री खतिवडाको प्रतिबद्धता

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार १६:०७
file-photo

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री खतिवडाले नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने बताएका हुन् ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको बताए । साथै उनले नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने बताए ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिरहेको जनाउँदै उनले सबै नेपालीलाई बीमाको दायरामा आउन अपिल गरे । उनले कोरोना महामारीको समयमा जनतालाई सही र जिम्मेवार सूचना प्रभाव गर्ने सञ्चारकर्मीको प्रसंशा गरे ।