सरकारले बालबालिकालाई लगाउन मिल्ने कोभिड खोप खरिद गर्ने

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट खोप खरिद गर्ने निर्णय भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार, मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको छ ।
यो खोप बालबालिकालाई पनि लगाउन मिल्ने भएकोले खरिद गर्न लागिएको हो । करिब ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्न लागिएको छ । १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खोप खरिद गर्न लागिएको छ । सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरूद्ध खोप लगाइसक्ने बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरूद्ध खोप लगाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताइरहेका छन्।