मकवानपुरको धादिङमा अस्थाई प्रहरी चौकी संचालनमा
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर – ५ धादिङ्मा अस्थाई प्रहरी चौकी स्थापना गरी संचालनमा ल्याइएको छ । सो क्षेत्रको शान्ति सुरक्षालाई थप चुस्त दुरुस्त बनाउँदै जनतालाई सेवा पुर्याउने उदेश्यले प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
शुक्रबार बिहान आयोजित एक कार्यक्रमकाबीच मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रहरी चौकीको उद्घाटन गरेका हुन् । उनले प्रहरीले निश्पक्ष तरिकाले देश र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताए । देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रहरीलाई आम नागरिकले सहयोग गर्नुपर्ने प्रजिअ पाण्डेले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठौर, स्थानीय जनप्रतिनिधि, पत्रकार, स्थानीयवासीको उपस्थिति रहेको थियो ।

