नाबालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ १७, मंगलवार ०८:५२
सांकेतिक तस्बिर

काठमाडौं । खोटाङमा नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकालाई करणीको प्रयास गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई पक्राउ गरेको हो ।

बालिकालाई जेठ ११ गते बिहान करिब ९.३० बजे करणीको प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका उनलाई आइतबार बिहान लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आरोपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै जेठ १३ मा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको थियो । पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।