नवनियुक्त आइजिपी खापुङलाई दर्ज्यानी चिह्न
काठमाडौं । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आइजिपी) पाएको छ। चन्द्रकुबेर खापुङले ३२औं प्रहरी महानिरीक्षकका रूपमा दर्ज्यानी चिह्न प्राप्त गरेका हुन्।
१३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आइजिपीको दर्ज्यानी चिह्न (फुली) लगाइदिएका हुन्।
यसअघि आइजिपी दीपक थापा भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा गएका थिए। थापाको अवकाशसँगै खापुङले आजदेखि नेपाल प्रहरीको कमाण्ड सम्हालेका हुन्। दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर पदभार ग्रहण गर्नेछन्।
प्रहरी नियमावलीअनुसार खापुङले सेवा हदका कारण लामो समयसम्म नेतृत्व गर्न पाउने छैनन्। उनी ३० वर्षे सेवा अवधि पूरा भई आगामी कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जानेछन्।
