माधव नेपाल आज हेटौंडा आउने
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल आज (शनिबार) हेटौंडा आउने भएका छन् । एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा गर्न अध्यक्ष नेपाल हेटौंडा आउन लागेको समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए ।
रोयल पार्टी प्यालेसमा विहान साँढे ११ बजेदेखि हुने भेलाको तयारी पूरा भइसकेको छ । भेला अघि युवाहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, चुुरियामाईबाट मोटर साइकल र्याली आयोजना गर्ने अध्यक्ष पोखरेलले जानकारी दिए । कार्यक्रमको तयारी भएको अध्यक्ष पोखरेलको भनाई छ । उनले कार्यक्रमलाई सफल बनाउन आग्रह समेत गरेका छन् ।
कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, पार्टीका बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने, केन्द्रीय सदस्यहरु विरोध खतिवडा, ललित बस्नेतले सम्बोधन गर्ने कार्यसूची रहेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार, नगर कमिटी, अनेरास्ववियू, अनेम संघ, युवा संघका विभिन्न कमिटी घोषणा हुनेछ । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी संघठन विस्तारमा जुटेको छ ।
