मकवानपुरको बकैयामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सा इकाई, सिविन नेपाल र बकैया गाउँपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बालबालिका, किशोरकिशोरीहरुमा कोभिड–१९ का कारणले देखिएको समस्या तथा आत्महत्या गर्नेको संख्या बढिरहेकाले बालबालिका तथा किशोरकिशोरीहरुलाई यस विषयमा जानकार तथा सचेतीकरण गराउने विषयमा कार्यक्रम आयोजना गरिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिईन् ।
कार्यक्रममा मानसिक स्वास्थ्य, मानिसमा मानसिक समस्या देखा पर्नुको कारण तथा आत्महत्याको विषयमा कान्ति बाल अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डा.गुञ्जन धन्जु र चिकित्साविद् रामपुकार साहले सहजीकरण गरेका थिए ।
कार्यक्रममा समाजमा लागूऔषधको प्रयोग, आर्थिक विपन्नता, यौन शोषण, असमझदारी, परीक्षाको नतिजा अपेक्षाकृत नहुनु, प्राकृतिक प्रकोप, बालविवाह, बालबालिका माथि हुने गरेको विभेद तथा हिंसा आदी कारणले आत्महत्या बढिरहेको भन्दै सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा बकैया गाउँपालिकाका १२ वटा वडाहरु मध्ये ८ वटा वडाका बाल क्लबका प्रतिनिधि, पालिकास्तरीय बालक्लब सञ्जालका प्रतिनिधि, किशोरकिशोरी समुहका सदस्यहरु, महिला स्वयम्सेविका, शिक्षक, बालमैत्री सहजकर्ता, जनप्रतिनिधि तथा सामाजिक विकास शाखा प्रमुखको सहभागिता रहेको थियो ।
