१० करोडले बढ्यो बकैयाको बजेट

तु खबर संवाददाता
२०८१ असार १२,मंगलवार ०८:३४

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आवको लागि बजेटको आकार बढाएको छ ।

पालिकाको सोमबार सम्पन्न १० औं गाउँसभामा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले सार्वजनिक गरेको आगामी आवको बजेटको आकार १० करोड बढेको पाइएको हो ।

पालिकाले आगामी आवको लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आवको १० करोड बढी हो ।

पालिकाले चालू आर्थिक वर्षको लागि ८१ करोड ७० लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पालिकालाई आगामी आवका लागि संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३४ करोड ६४ लाख रुपैयाँ, बागमती प्रदेश सरकारले सशर्त अनुदानतर्फ ३ करोड ९ लाख रुपैयाँ उपलब्ध भएको छ ।

यस्तै, संघीय सरकारबाट समपुरक अनुदानबापत २ करोड ८५ लाख, प्रदेश सरकारबाट १ करोड ९७ लाख रुपैयाँ उपलब्ध भएको छ ।