पार्टीमा फर्किए नेपाल पक्षलाई आममाफी दिने ओलीको घोषणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका विष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टीमा फर्किए आममाफी दिने घोषणा गरेका छन् ।
अध्यक्ष ओलीले बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बाटो बिराएकाहरु (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिने घोषणा गरेका हुन् ।
उनले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने पनि बताए । ‘यो काँक्राको कलिलो चिचिलो होइन, जसलाई औँला ताक्ने बित्तिकै कुहिन्छ,’ ओलीले भने, ‘पुष्पलालजस्ता आदर्श व्यक्ति, मदन भण्डारीजस्ता आदर्श व्यक्तित्वबाट प्रशिक्षित विचार र आन्दोलन हो । यो स्वार्थहरुको गठबन्धन होइन । समृद्ध नेपाल र सुखी नेपालीको गहन अभिभारा बोकेको र अगाडिका चुनौती सामना गर्ने हिम्मत भएको आन्दोलन हो ।’
पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले भने, ‘आजको नेकपा एमालेमा यो सिलसिला अन्त्य गर्नेछ । हामी आन्दोलनलाई फेरि सही दिशामा अघि लैजान्छौं । पुष्पलाल र मदन भण्डारीले अघि सारेका विचारका आधारमा नयाँ ढंगले हाम्रो आन्दोलन अघि जान्छ । ’
