प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान

तु खबर संवाददाता
२०८२ भाद्र १४, शनिबार ०७:४७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने आधिकारिक भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् । बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका ओलीलाई उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवासहितका मन्त्रीहरूले बिदाइ गरेका थिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन पुगेका ओली भदौ १६ गते तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनमा सहभागी हुनेछन् । उनले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित ६ देशका सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीसँग भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्।