नेपाली नियोगबाट आर्थिक सहयता र उद्धारकार्यमा सहयोगको अपिल
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, तत्कालीन राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग गर्न अमेरिकास्थित नेपाली दूतावास र न्यूयोर्कस्थित महावाणिज्यदूतावासले अपिल गरेका छन्।
२०८३ भदौ १० गते बुधबार बिहान ८ः४० बजे आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको आग्रह गरेपछि अमेरिकास्थित राजदुतावास र महावाणिज्यदुतावासले पनि उद्धार कार्यमा र आर्थिक सहायताका लागि अनुरोध गरेका हुन् ।
यस कठिन परिस्थितिमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा आर्थिक योगदान गर्न सबै नेपाली र परोपकारी संस्थाहरूलाई अनुरोध गरिएको छ।
बाढी पहिरोमा परी १३३ भारतीय, ४७ अमेरिकी, ३४ अस्ट्रेलियाली, ३३ बेलायती, २४ क्यानेडियन र १९ मलेसियाली नागरिक वेपत्ता भएका छन् । युक्रेन, सिंगापुर, दक्षिण अफ्रिका, जापान, न्युजिल्यान्ड, जर्मनी, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका नागरिकहरू पनि बाढी पहिरोमा परी सम्पर्क बिहीन भएका छन् ।
बिहान करिब ९ बजे नेपाल छिरेको बाढी टिमुरे र स्याफ्रुबेँसी हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका त्रिशूली नदी किनारमा फैलिएको थियो।
बाढी पहिरोका कारण अर्बौको भौतिक संरचना ध्वस्त भएका छन् जसको पुर्ननिर्माण चुनौतीपूर्ण हुने देखिएको छ । विदेशी नियोग तथा छिमेकी देशहरुले उद्धार कार्यमा सहयोग र आर्थिक सहायताको प्रतिवद्धता जनाएका छन् । नेपाली नागरिकका तर्फबाट पनि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने क्रम भने बढेको छ ।
