नेपालको विनाशकारी विपद्प्रति अन्तर्राष्ट्रिय समुदायद्वारा दुःख व्यक्त

तु खबर संवाददाता
२०८३ भाद्र ११, बिहीबार ०६:३०

बुधबार बिहान आएको भीषण बाढी-पहिरोमा परी १५७ जनाको ज्यान गएको घटनाप्रति विश्व समुदायले गहिरो शोक व्यक्त गर्दै उद्धार र राहतमा सघाउने प्रतिबद्धता जनाएका छन्। ठूलो संख्यामा पर्यटकहरू हराइरहेको र त्यसमा ३३ जना बेलायती नागरिकसमेत परेको प्रति चिन्ता जनाउँदै विभिन्न देशहरूले आवश्यक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेका हुन्।

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संकटको यस घडीमा नेपाललाई हरसम्भव सहयोग गर्न आफ्नो देश तत्पर रहेको उल्लेख गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले पनि नेपाल सरकारसँग निरन्तर समन्वय भइरहेको र सहयोगका लागि तयार रहेको स्पष्ट पारेको छ। त्यसैगरी, युरोपेली संघ ९ईयू० की अध्यक्ष उर्सुला भोन डेर लेयनले थप युरोपेली सहायता परिचालन गर्न ईयू तयार रहेको बताएकी छन्।

बेलायतले पनि उसको कन्सुलर टोलीले उद्धार कार्य र प्रभावितको सहयोगका लागि स्थानीय निकायहरूसँग मिलेर काम गरिरहेको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि यस कठिन परिस्थितिमा नेपाललाई सघाउन क्यानडा प्रतिबद्ध रहेको जनाएका छन्।

नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले रसुवालगायत क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति सहानुभूति प्रकट गरेका छन्। यस्तै, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै नेपालको यस दुःखद् क्षणमा पाकिस्तान साथमा रहने प्रतिबद्धता जनाएका छन्।