रास्वपा सचिवालय बैठक आज, समानुपातिक सांसद सिफारिस गर्ने तयारी
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बिहान १० बजे बस्ने भएको छ। यसअघि शनिबारका लागि तय गरिएको बैठक पार्टी सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजका लागि सारिएको थियो। पार्टी प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठक सभापतिको निर्देशनमा पार्टी कार्यालय वनस्थलीमा बस्नेछ।
प्रवक्ता झाका अनुसार बैठकको मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिस गर्नु रहेको छ। निर्वाचन आयोगले दलहरूलाई समानुपातिकतर्फका सांसदहरूको सूची बुझाउन आजसम्मको समय दिएको छ। रास्वपाले प्राप्त मतको आधारमा समानुपातिकतर्फ ५७ सिट पाउने भएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फ १६५ सिटमध्ये १२५ स्थानमा जित हासिल गरेको पार्टीले समानुपातिक सिटसहित प्रतिनिधिसभामा बलियो उपस्थिति बनाउने भएको छ। आजको बैठकमा निर्वाचन परिणामको समीक्षा, सरकार गठनसम्बन्धी सम्भावना तथा वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।
