धनुषा–१ को विवादबीच आयोगले मातृकाप्रसाद यादवलाई दियो विजयी प्रमाणपत्र
ठमाडौँ । धनुषा–१ को प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले नेकपा उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।
अदालतको निर्णयपछि निर्वाचन आयोगले निर्वाचन परिणाम कार्यान्वयन गर्दै नेकपाबाट उम्मेदवारी दिएका मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको जनाएको छ।
निर्वाचन परिणामअनुसार यादवले १० हजार ४२८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ मत ल्याएका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका छन्।
रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि उनको चुनाव चिन्हमा भने यादवले पाएको मतभन्दा झन्डै दोब्बर मत परेको बताइएको छ। यस विषयलाई लिएर निर्वाचन प्रक्रियामाथि बहससमेत सुरु भएको छ।
यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ अनुसार रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भइसकेको अवस्थामा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु गम्भीर विषय हुने बताएका थिए।
सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले प्रक्रिया अघि बढाउँदै यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो।
