दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान, देशभर ६२ लाखभन्दा बढी मत खस्यो
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानअन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेका छन्।
प्रदेशगत तथ्यांकअनुसार सबैभन्दा बढी मत कोसी प्रदेशमा खसेको छ। यहाँ ११ लाख ४९ हजार ५७१ मत खसेको आयोगले जनाएको छ। त्यसपछि मधेस प्रदेशमा १० लाख २४ हजार ४४१ जनाले मतदान गरेका छन्।
त्यस्तै लुम्बिनी प्रदेशमा ९ लाख ७७ हजार ४१९ मत खसेको छ भने बागमती प्रदेशमा ८ लाख ५३ हजार ५२९ मत खसेको आयोगको विवरणमा उल्लेख छ। यद्यपि बागमतीको तथ्यांकमा काठमाडौं उपत्यकाका तीन जिल्ला जोडिएको छैन।
अलग्गै तथ्यांकअनुसार काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकामा ५ लाख ५२ हजार ८८६ मत खसेको छ।यसैगरी गण्डकी प्रदेशमा ७ लाख २४ हजार १३०, सुदूरपश्चिम प्रदेशमा ५ लाख ६८ हजार ५५१ र कर्णाली प्रदेशमा ३ लाख ६९ हजार ५१५ मत खसेको छ।प्रतिशतका आधारमा भने सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा ४७ प्रतिशत भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मतदान भएको छ।
देशभर रहेका १० हजार ९६७ मतदान स्थलमध्ये अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
