‘अबकी बार सय पार’ नारा अघि सार्दै गगन थापा

तु खबर संवाददाता
२०८२ माघ २३, शुक्रबार १७:१३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने लक्ष्यसहित ‘अबकी बार सय पार’ भन्ने नारा लिएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब ‘अबकी बार कांग्रेसको सरकार’ भन्ने पुरानो नारा त्यागेर सय सिट पार गर्ने स्पष्ट लक्ष्यसहित मत माग्नुपर्ने बताएका हुन् ।

सभापति थापाले मधेशतर्फ जाँदै गर्दा पनि पार्टीका साथीहरूलाई यही सन्देश दिएको उल्लेख गर्दै भने, “नारै लगाउने हो भने अबकी बार सय पार भन्ने नारा लगाउनुस् । मज्जाले सकिन्छ, बहुमतसम्म पुग्न सकिन्छ । तर त्यसका लागि दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ ।”

उनले नेपाली कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने नेपालको एक मात्र पार्टी भएको दाबी गर्दै संगठनको तागत प्रयोग गरेर घरघरमा पुग्न निर्देशन दिए । “कांग्रेसका प्रत्येक सदस्यले म नै उम्मेदवार हुँ भन्ने ठानेर टोल–टोलसम्म खटिनुपर्छ,” उनले भने, “रुख चिन्हभन्दा बाहिर कहीँ पनि मत जानु हुँदैन । कुनै नेता जिताउन अर्को नेता हराउने सोच स्वीकार्य छैन ।”

१० लाखभन्दा बढी क्रियाशील सदस्य रहेको पार्टीका रूपमा कांग्रेससँग बहुमत ल्याउने क्षमता रहेको बताउँदै थापाले पार्टी छोडेर गएका कार्यकर्तालाई पनि खुलेर स्वागत गर्नुपर्ने धारणा राखे । “हिजो चित्त दुखेर, मन दुखेर पार्टी छोड्नुभएका सबै साथीहरूलाई घर फर्किन आग्रह गर्नुपर्छ,” उनले भने, “तपाईंहरू किन दुख्नुभयो, ती कारण सम्बोधन गर्ने प्रयास हामीले गरेका छौँ भन्ने सन्देश लिएर जानुपर्छ ।”

सभापति थापाले कांग्रेसले देश सम्हाल्ने र व्यवस्थामा सुधार ल्याउने जिम्मेवारी लिन सक्ने दाबी गर्दै आगामी निर्वाचनबाट पार्टीलाई बहुमतमा पुर्‍याउन सकिनेमा आफू विश्वस्त रहेको बताए ।