युक्रेनमा बढ्दो नागरिक लक्षित आक्रमणको राष्ट्र संघद्वारा कडा निन्दा
न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनका नागरिक पूर्वाधारहरूमा रूसी संघले गरिरहेको पछिल्लो मिसाइल र ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। महासचिवका प्रवक्ता स्टिफन डुजारिकले जारी गरेको वक्तव्यमा जनवरी ९ को राति भएका यी आक्रमणहरूले ठूलो संख्यामा मानवीय क्षति पुर्याउनुका साथै युक्रेनका प्रमुख सहरहरूमा बिजुली, पानी र ताप प्रणालीमा गम्भीर क्षति पुर्याएको उल्लेख छ ।
हाल युक्रेनमा अत्यधिक चिसो छ। यस्तो कठ्यांग्रिदो जाडोमा ऊर्जा लगायतका आधारभूत सेवाहरूमा अवरोध हुँदा लाखौँ मानिसको जीवन जोखिममा परेका समाचारहरू सार्वजनिक भइरहेका छन्। संयुक्त राष्ट्र संघले यसअघि नै सन् २०२६ मा युक्रेनका लाखौँ मानिसलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको थियो।
राष्ट्र संघले नागरिक र नागरिक पूर्वाधारलाई जानीजानी निशाना बनाउनु अन्तर्राष्ट्रिय मानवीय कानुनु को खुला उल्लंघन भएको स्पष्ट पारेको छ। महासचिवले यस्ता आक्रमणहरू जहाँ र जसले गरे पनि ती अस्वीकार्य र न्यायोचित नहुने बताउँदै तत्काल रोक्न आग्रह गरेका छन्। युक्रेनमा बढ्दो ड्रोन र लामो दूरीका मिसाइलको प्रयोगले युद्धको स्वरूप परिवर्तन गरेको र यसले अग्रपंक्ति भन्दा टाढा रहेका नागरिकलाई समेत असुरक्षित बनाएकोमा राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ।
विगत केही वर्षदेखि जारी यो युद्धका कारण लाखौँ मानिस विस्थापित भइसकेका छन्। राष्ट्र संघले दुवै पक्षलाई संयमता अपनाउन र मानवीय कानुनको सम्मान गर्न आग्रह गर्दै आएको छ। प्रवक्ता डुजारिकका अनुसार राष्ट्र संघका विभिन्न एजेन्सीहरू यतिबेला प्रभावित क्षेत्रमा आकस्मिक सेवा र राहत सामग्री वितरणमा जुटेका छन्।
