काठमाडौंका दुई स्थानमा सवारीसाधनमा आगजनी

तु खबर संवाददाता
२०८२ फाल्गुन १९, मंगलवार १०:०१

काठमाडौंको महाराजगञ्ज र नैकापमा दुई वटा सवारीसाधनमा आगजनी गरिएको अवस्थामा फेला परेका छन्।

महाराजगञ्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको टोयोटा कारलाई अज्ञात समूहले जलाएको हो। ती घटनास्थलहरूमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको पर्चा छरिएको भेटिएकाले यो घटना निर्वाचन बिथोल्ने योजनाबद्ध प्रयास हुनसक्ने प्रहरीले आशंका गरेको छ।

राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई आइतबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो भने जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि ५ दिनको अनुमति दिएको छ। प्रसाईंको पक्राउको विरोधमा उनका समर्थकहरूले सरकारी वेबसाइट ह्याक गर्ने, मसाल जुलुस निकाल्ने र आन्दोलनको आह्वान गर्ने जस्ता गतिविधि गरिरहेका छन्। हालसम्म निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले १३३ जनालाई पक्राउ गरिसकेको छ, जसमध्ये ७० जना अझै प्रहरी हिरासतमा रहेका छन्।