इकोसकको ८० वर्ष : नेपाली नेतृत्वमा विश्वव्यापी एजेन्डा र नयाँ मार्गचित्र
न्युयोर्क । संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली निकायमध्येको एक ‘आर्थिक तथा सामाजिक परिषद’ इकोसक यतिबेला नेपाली कूटनीतिज्ञको नेतृत्वमा आफ्नो स्थापनाको ८० औं वर्षगाँठ मनाउने तयारीमा जुटेको छ।
आगामी २३ जनवरीमा ८०औं वार्षिकोत्सव मनाउन लागेको यस परिषद्को नेतृत्व हाल संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले गरिरहेका छन् ।
नेपालले नेतृत्व गरिरहेको यो ऐतिहासिक वर्षलाई विश्वले दिगो विकास लक्ष्य प्राप्तिका लागि ‘टर्निङ प्वाइन्ट’ को रूपमा हेरेको छ। सन् २०३० को समयसीमा नजिकिँदै गर्दा विश्वमा बढ्दो गरिबी, असमानता र जलवायु संकटलाई सम्बोधन गर्न अध्यक्ष थापाले ‘सबैका लागि दिगो भविष्य’ सुनिश्चित गर्ने रूपान्तरणकारी कार्ययोजना अघि सारेका छन् ।
अध्यक्ष थापाको कार्यकालमा विशेष गरी अफ्रिकी मुलुकहरू, कम विकसित र भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रहरूको हितलाई प्राथमिकतामा राखिएको छ। नेपालको नेतृत्वमा यस वर्ष कृषि-खाद्य प्रणालीमा सुधार, डिजिटल समावेशीकरण, युवा उद्यमशीलता र जलवायु उत्थानशीलता जस्ता विषयहरूलाई प्रमुख कार्यसूची बनाइएको छ। ‘विकासोन्मुख देशहरूको वित्तीय पहुँच बढाउन र प्रणालीगत सुधारमार्फत साझेदारी जुटाउन नेपालले नेतृत्वदायी भूमिका खेलिरहेको छ, अध्यक्ष थापाले भने ।
सन् १९४५ मा स्थापना भई २३ जनवरी १९४६ मा पहिलो बैठक बसेको इकोसकले आठ दशकदेखि विश्वका जटिल आर्थिक र सामाजिक चुनौतीहरूमाथि मन्थन गर्दै आएको छ। बहुपक्षीयता र समावेशितालाई मूल मर्म मानेको यो परिषद्ले सदस्य राष्ट्रहरू, नागरिक समाज र निजी क्षेत्रलाई जोड्ने एक अद्वितीय मञ्चको रूपमा काम गरिरहेको छ।
आफ्नो ८० वर्षे विरासतलाई स्मरण गर्दै परिषद्ले यसै वर्ष विश्व सहरी मञ्चु जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रक्रियाहरूमा समेत निर्णायक योगदान पुर्याउने लक्ष्य राखेको छ। नेपाली नेतृत्वमा हुन लागेको यो वार्षिकोत्सवले विश्वव्यापी ऐक्यबद्धता र साझा विकासका लागि नयाँ दिशा निर्देश गर्ने विश्वास गरिएको छ।
