सन् २०२६ इकोसक साझेदारी मञ्चका लागि परामर्श सम्पन्न, प्रतिवेदन सार्वजनिक
न्युयोर्क– आगामी २७ जनवरी २०२६ मा न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन लागेको २०२६ इकोसक साझेदारी मञ्चको तयारीका लागि विश्वव्यापी सरोकारवालासँग परामर्श सम्पन्न भएको छ ।
संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागद्वारा १५ सेप्टेम्बर देखि ३१ अक्टोबर २०२५ सम्म सञ्चालित यस परामर्शले दिगो विकास लक्ष्य प्राप्तिको गति बढाउन सरोकारवालाहरूका सुझाव र अनुभवहरू संकलन गरेको हो ।
दिगो विकास लक्ष्य प्रतिवेदन २०२५ को तथ्याङ्क उद्धृत गर्दै वर्तमान चुनौतीहरू औँल्याएको छ, जसमा केवल ३५ लक्ष्यहरू मात्र सही दिशामा रहेका छन् भने १८ लक्ष्यहरू सन् २०१५ को तुलनामा अझ खस्किएका छन् । सरोकारवालाहरूले यी नकारात्मक प्रवृत्तिहरूलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रमुख अवरोधका रूपमा पहिचान गरेका छन् ।
आगामी मञ्चले विशेष गरी स्वच्छ खानेपानी र सरसफाइ, किफायती र स्वच्छ ऊर्जा, उद्योग, नवीनता र पूर्वाधार, दिगो सहर र समुदायहरू, र लक्ष्य साझेदारीमा केन्द्रित रहेर गहन समीक्षा गर्नेछ । यी क्षेत्रहरूमा भएका प्रगति र सफल साझेदारीका उदाहरणहरूलाई मञ्चमा मुख्य प्राथमिकता दिइनेछ ।
परामर्शले प्रभावकारी साझेदारीका लागि नीतिगत र नियामक एकरूपता, बलियो डाटा पूर्वाधार, र दिगो वित्तीय ढाँचाहरूको आवश्यकतालाई जोड दिएको छ । यसका साथै, स्थानीय निकायहरू, साना तथा मझौला उद्योगहरू र शैक्षिक संस्थाहरूसँगको सहकार्यलाई सुदृढ बनाउन र वरिष्ठ सरकारी अधिकारीहरूको क्षमता अभिवृद्धि गर्न समेत सिफारिस गरिएको छ ।
इकोसकका अध्यक्ष संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रतिवेदनले औल्याएका विषयहरुमा २७ जनवरीमा आयोजना हुने कार्यक्रममा विशेष छलफल हुने र यो प्रतिवेदन मार्गदर्शनको रुपमा रहने बताए ।
सरोकारवालाहरूले महासभाको ८० औँ सत्रको दौरान इकोसक र उच्च-स्तरीय राजनीतिक मञ्च को व्यवस्थापनमा सुधार गर्न विस्तृत सुझावहरू दिएका छन् । प्रतिवेदनले सबैका लागि दिगो भविष्य सुनिश्चित गर्न विज्ञान र प्रमाणमा आधारित समाधान र रूपान्तरणकारी कार्यहरूको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदन आज सार्वजनिक गरिएको हो ।
