भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपप्रति संयुक्त राष्ट्रसंघको गहिरो चिन्ता

तु खबर संवाददाता
२०८२ पुष १९, शनिबार २०:२३
तस्बिर : गिरिजा अधिकारी । न्युयोर्क

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भेनेजुएलामा पछिल्लो समय विकसित घटनाक्रम र त्यहाँ भएको अमेरिकी सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले त्यस क्षेत्रकै शान्तिमा असर पर्न सक्ने चेतावनी दिएका छन् ।

महासचिवले भेनेजुएलाको आन्तरिक परिस्थितिलाई अलग राखेर हेर्दा पनि सैन्य हस्तक्षेपको यो कदमले विश्व राजनीतिमा खतरनाक नजिरु स्थापना गरेको बताए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सन्तुलन बिग्रन सक्ने राष्ट्रसंघको ठम्याइ छ।

वक्तव्यमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको पूर्ण पालना हुनुपर्नेमा जोड दिइएको छ। महासचिवले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय कानुनका नियमहरूको उचित सम्मान नगरिएकोमा गम्भीर असन्तुष्टि समेत पोखेको सो वक्तव्यमा उल्लेख छ ।

तनाव कम गर्नका लागि महासचिवले भेनेजुएलाका सबै राजनीतिक दल र सरोकारवालाहरूलाई समावेशी संवादमा जुट्न आग्रह समेत गरेका छन् । समस्याको समाधान सैन्य बल नभई मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर खोजिनुपर्ने महासचिवको भनाइ रहेको सो वक्तव्यमा उल्लेख गरिएको छ ।

यस अघि अमेरिकाले भेनेजुएलामाथि सैन्य कारवाही गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई अमेरिका ल्याएको थियो ।