सुडानमा महिला र बालिकाहरूको भयानक अवस्थाप्रति हाम्रो गम्भीर चिन्ता छः राजदुत ज्वोगार
न्युयोर्क । स्लोभेनियाका राजदूत सामुएल ज्वोगारले डेनमार्क, फ्रान्स, ग्रीस, गुयाना, पानामा, दक्षिण कोरिया, सिएरा लियोन र संयुक्त अधिराज्यको तर्फबाट संयुक्त रूपमा बोल्दै सुडानमा जारी द्वन्द्वका कारण महिला र बालिकाहरूले भोग्नुपरेको भयानक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
युएन वेब टिभीमा दिइएको सामग्री अनुसार, संयुक्त राष्ट्रसंघमा मिडिया स्टेकआउटमा पत्रकारहरुसँग बोल्दै राजदुत ज्वोगारले सुडानमा महिला र बालिकाहरू विरुद्ध भइरहेको यौनजन्य हिंसा र दुर्व्यवहारका घटनाहरू अत्यन्तै डरलाग्दा रहेको बताए । द्वन्द्वरत पक्षहरूले यौन हिंसालाई युद्धको हतियारको रूपमा प्रयोग गरिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको घोर उल्लंघन भएको समेत स्पष्ट पारे ।
उनले सुडानमा हजारौं गर्भवती महिलाहरूले सुरक्षित सुत्केरी सेवा पाउन नसकेको बताउँदै आमा र शिशुको ज्यान जोखिममा रहेको समेत उल्लेख गरे ।
उनले देशहरुको तर्फबाट द्वन्द्वरत पक्षहरूलाई तत्काल हिंसा रोक्न र महिलाहरूको सुरक्षा सुनिश्चित गर्न समेत माग गरेका छन् । राजदुत ज्वोगारले अपराधीहरूलाई कानुनी दायरामा ल्याउन र पीडितहरुलाई आवश्यक चिकित्सा तथा मनोवैज्ञानिक सहयोग प्रदान गरिनुपर्ने समेत बताए ।
सुडानका महिलाहरुको साहसप्रति सम्मान गर्दै उनले अन्तर्राष्ट्रिय समुदायले उनीहरूलाई एक्लो छोड्नु नहुने बताए । स्लोभेनियाका राजदूतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकपछि ९ वटा देशको तर्फबाट सुडानका महिलाहरूको पक्षमा संयुक्त वक्तव्य दिएका हुन्।
