ध्यान आन्तरिक शान्ति, सद्भाव र मानवताको कल्याणका लागि महत्वपूर्ण : स्थायी प्रतिनिधि थापा

गिरिजा अधिकारी
२०८२ पुष ५, शनिबार ०५:५९
तस्बिर : युएन वेब टिभी

न्युयोर्क । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापाले ध्यानले आन्तरिक शान्ति, सद्भाव र मानवताको कल्याणका लागि आत्म चिन्तन गर्ने अवसर प्रदान गर्ने बताएका छन् ।

आज संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा दोस्रो विश्व ध्यान दिवसका अवसरमा मन्तव्य राख्दै थापाले वर्तमान विश्वमा विद्यमान जलवायु संकट, द्वन्द्व, र मानसिक तनाव जस्ता चुनौतीहरूको सामना गर्न ध्यानले शक्ति प्रदान गर्ने बताए । यसले मानसिक स्पष्टता, भावनात्मक स्थिरता, र नैतिक आचरणलाई मार्गनिर्देशन गर्ने थापाको भनाइ छ ।

थापाले सम्बोधन गर्दै परापूर्व कालदेखि नेपाल शान्ति, सजगता र आध्यात्मिक जागरणको पवित्र भूमिका रूपमा रहेको बताए । हिमालय, पवित्र नदी, ताल र वनजङ्गलहरूले गर्दा नेपाल ध्यान र चिन्तनको शाश्वत स्थल बनेको स्मरण गर्दै प्रतिनिधि थापाले नेपालका भगवान बुद्धले सिकाउनुभएझैं, ध्यान भनेको मनभित्रको कोलाहललाई शान्त पार्ने एक सचेत प्रक्रिया रहेको समेत बताए ।

हाल नेपालले विश्वभरबाट ध्यान र  कल्याण  लागि हजारौं आगन्तुकहरूलाई स्वागत गरिरहेको बताउँदै सो सम्बोधनमा थापाले  भगवान बुद्धको जन्मस्थल र वैदिक परम्पराको प्रभाव रहेको नेपालले विश्वभर शान्ति र ध्यानको अभ्यासलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

ध्यानलाई केवल एक अनुष्ठानका रूपमा मात्र नभई विश्व शान्ति र सद्भावका लागि एक परिवर्तनकारी माध्यमका रूपमा आत्मसाथ गर्न उनले सबैलाई आग्रह समेत गरे । गत वर्ष संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवशका रुपमा घोषणा गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।

यसैबीच, आजै संयुक्त राष्ट्रसंघमा भएको मनको जागरण : शान्ति, स्वास्थ्य र सद्भावका मार्गहरु विषयक साइड इभेन्टमा स्थायी प्रतिनिधि  थापाले लाखौँ मानिसहरु स्वास्थ्य समस्या र तनावसँग जुधिरहेको बताएका छन् । उनले ध्यानले मानसिक स्पष्टता, सिर्जनशीलता, करुणा र सहानुभूति बढाउने चर्चा गर्दै अन्ततः विश्वव्यापी शान्ति र स्थिरतामा योगदान पुर्याउने समेत बताए ।

प्राचीन वैदिक कालदेखि नै नेपाललाई साधकहरूले ध्यान र चिन्तन गर्ने ‘तपोभूमिु’ र आध्यात्मिक आश्रयस्थल ‘पुण्यभूमि’का रूपमा सम्मान गर्दै आएको स्मरण गर्दै स्थायी प्रतिनिधि थापाले आन्तरिक शान्ति नै विश्व शान्तिको आधार भएको बताए ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क र जीवन विज्ञान, नेपालद्वारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा गुरुहरू एल.पी भानु शर्मा र रमेश प्रसाद नेपाल लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका अण्डर सेक्रेटरी जनरल अतुल खरेको पनि उपस्थिति रहेको थियो ।