महिला दिवशको अवसरमा नीति संवाद
हेटौंडा । मकवानपुरको हेटौंडामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार नीति संवाद कार्यक्रम भएको छ । मकवानपुर महिला उत्थान समाजको आयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।
नीति संवाद कार्यक्रममा नेपाल ट्रेड युनियन श्रमिक संघका अध्यक्ष खलिन मिया, जिफन्ट मकवानपुरका अध्यक्ष अर्जुन अर्याल, अखिल नेपाल ट्रेड युनियन बागमती प्रदेशका सहसचिव अध्यक्ष बिष्णु राणा, मनहरी गाउँपालिका प्रधानमन्त्री स्वरोजगार शाखाका सब ईन्जिनियर राजकुमार ठाकुर प्रमुख वक्ताका रुपमा रहेको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा कार्यरत २३ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी श्रमिक महिलाहरुले समयमा ज्याला नपाउने, बढी समय सम्म काम गर्नुपर्ने , पुरुष श्रमिकको तुलनामा कम ज्याला पाउने जस्ता समस्याहरु झेल्नु परेको बताएका थिए ।
श्रमिक महिलाहरुले अनौपचारिक क्षेत्रमा काम गर्दा दुर्घटना हुदा उपचार समेत नपाईने गुनासो राखेका थिए । उनिहरुले श्रम डेस्कको समेत स्थापना गर्न माग राखेका थिए । मकवानपुर महिला उत्थान समाजका अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
