मकवानपुरका महिला पत्रकारलाई स्यानेटरी प्याड वितरण
मकवानपुर । सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरुका लागि स्यानेटरी प्याड वितरण शुभारम्भ गरेको छ । सञ्चारिका समूह मकवानपुरले मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी महिला पत्रकारहरुका लागि प्याड वितरण शुभारम्भ गरेको हो ।
कार्यक्रम समूहका अध्यक्ष सम्झना रिजालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि लामाले महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यस्तै, समूहका अध्यक्ष रिजालले उक्त कार्यक्रम हरेक महिना सञ्चालन हुने जानकारी दिइन् ।

सञ्चारिका समूहले आज नै पत्रकार महिला फुटसल कार्यक्रमको आयोजनासमेत गरेको छ । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धु्रव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतको उपस्थिति रहेको थियो ।

