अनिश्चितकालका लागि स्थगित भयो पत्रकार महासंघको चुनाव

तु खबर संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १६:५३

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको हो ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका रहेको थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) तोकिएको थियो ।

तर, नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका निर्वाचन कार्यतालिका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा भनिएको छ ।

सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित बन्दै आएको छ ।