हेटौंडामा दुई दिने खेल पत्रकारिता तालिम
मकवानपुर । हेटौंडामा दुई दिने खेल पत्रकारिता तालिम सुरु भएको छ । तालिम जिल्ला फुटबल संघ मकवानपुरको सहयोग तथा खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा बिहीबारबाट सुरु भएको हो ।
उक्त तालिमको एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले उद्घाटन गरेका थिए ।
फुटबल खेलको नियम, प्राविधिक ज्ञान, समाचार लेखन गर्दा ध्यान दिनुपर्ने कुराहरु, फुटबलको सर्वव्यापी मान्यता लगायतका विषयमा प्रशिक्षण दिइनेछ ।
आज शुक्रबारसम्म संचालन हुने तालिममा मकवानपुरका ३५ जना पत्रकारले सहभागिता जनाएका छन् ।
पहिलो दिनको तालिमको सहजीकरण फुटबल खेलका विज्ञ सञ्जिव मिश्रले गरेका थिए ।
यस्तै, शुक्रबार रेडियो कान्तिपुरका सम्पादक पवन आचार्य र खेल पत्रकार प्रकाश तिमल्सिनाले फुटबल खेलको रिपोर्टिङको विषयमा सहजीकरण गर्ने कार्यसूची रहेको छ ।
कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरका उपाध्यक्ष सुबास विडारीको अध्यक्षतामा भएको हो ।
