महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

तु खबर संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १८:०४

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।

मन्त्रालयका सचिव श्रीकृष्ण नेपालको सभाध्यक्षमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । सो क्रममा उनले महिला हिंसाको घटना अझै पनि कायमै रहेको बताइन् । पितृसत्तात्मक सोच र संरचनाका कारण नयाँ नीति र कानूनको कार्यान्वयनमा जटिलताहरु कायमै रहेको उनको भनाई छ ।

उनले प्रदेश सरकारले आगामी वर्षको बजेटमा महिला तथा बालबालिका सम्बन्धी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने लक्ष्य राखेको जानकारी दिइन् । उनले भनिन् , ‘समाजमा अझै पनि लैङ्गिक विभेद कायमै छ । त्यस्ता विभेद अन्त्यका लागि राजनीतिक दल, नागरिक समाज, मानव अधिकार रक्षकहरुलगायत महिला तथा बालबालिका सम्बन्धी क्रियाशील संघसंस्थाहरुले आ–आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक छ ।’

कार्यक्रममा मानव अधिकार संरक्षण तथा बेचबिखनविरुद्धको संजालकी संयोजक आरती पाठकले मानव बेचबिखनको घटना सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने मन्त्रालयको तर्फबाट चन्द्रकुमार बेन्जनकारले महिला हिंसाका घटना सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा इन्सेक बागमतीका संयोजक कृष्ण गौतम, इन्सेक बागमती का प्रलेख अधिकृत गणेशप्रसाद भण्डारी, मानव अधिकार रक्षक रुद्रबहादुर खड्कालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।