‘अनलाइन मिडियालाई नियमन गर्न जरुरी छ’

तु खबर संवाददाता
२०८१ माघ २३,बुधबार १७:५३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरू नियमन गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले नेपाली अनलाइन मिडिया क्षेत्र छाडा र अराजकतातर्फ उन्मुख रहेको भन्दै त्यसलाई नियमन गर्न जरुरी रहेको बताएका हुन् ।

उनले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको बताउँदै उनले अनलाइन मिडियाले सामाजिक सद्भाव, आपसी एकता र धार्मिक सहिष्णुता प्रवद्र्धनमा सहयोग नगरेको उल्लेख गरे ।

सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमुना भए पनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको उनले बताए ।

हेट स्पिचको माध्यमबाट गलत कुराहरू भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुननसक्ने उनको भनाई छ । नेपालमा धेरै धर्म मान्ने मानिस भए पनि अहिलेसम्म धार्मिक द्वन्द्व नभएको भन्दै धार्मिक सहिष्णुताका लागि एउटा नमुना मुलुक भएको उनले बताए ।