मनहरीमा फागुन २ गते ल्होछार कार्यक्रम हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा २ फागुन २०८१ मा कार्यक्रम आयोजना गरिने जनाएको छ ।
सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिनुको साथै तामाङ विज्ञद्वारा संस्कृतिबारे जानकारी दिइने जनाइएको छ । तामाङ मौलिक भेषाभुषा तथा प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने मनहरी २ का अध्यक्ष राजकुमार पाख्रीनले जानकारी दिए ।
कार्यक्रममा चर्चित कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामा लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । साथै तामाङ मौलिक पहिचान झल्किने तामाङ सेलो नृत्य (ग्रुप) प्रतियोगिता पनि हुनेछ । जसमा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः १०, ७ र ४ हजार रुपैयाँ पुरस्कार पदान गरिनेछ ।
खेलकुद विकास समिति मनहरी २ को आयोजना, मुख्य सहयोगी मनहरी गाउपालिका र संरक्षक तथा सहयोगी मनहरी २ रहेको समेत आयोजकले जनाएको छ । ल्होछार कार्यक्रममा हजारौँ मानिसले अवलोकन गर्ने र ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।
कार्यक्रम आरिराङ कोरियन भाषा तालिक तथा कन्सन्टेन्सी प्रालिको मुख्य प्रायोजक हुनेछ । पत्रकार सन्देश थिङको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।
सो अवसरमा खेलकुद विकास समिति मनहरीका सदस्य तथा नेकपा माओवादी केन्द्र मनहरी २ का इन्चार्ज चन्द्रबहादुर स्याङ्तान, खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष तथा मनहरी २ का वडा सदस्य शुक्राम मोक्तान, वडा सचिव साजन लामा, खेलकुद विकास समिति मनहरी २ का सदस्य तथा नेकपा एमाले मनहरी २ का अध्यक्ष इन्द्रदेब वाइबा, त्रिरत्न प्राविका अध्यक्ष एवम् नेकपा मनहरीका इन्चार्ज गुणा सिङ रुम्बा, च्यापल टोल विकास संस्थाका अध्यक्ष शान्तकुमार थिङलगायतको उपस्थिति रहेको थियो ।
