बागमती प्रदेशको बजेट १२ प्रतिशतभन्दा कम खर्च

मकवानपुर । बागमती प्रदेश सरकारको पछिल्लो ५ महिनाको अवधिमा कुल बजेटको १२ प्रतिशतभन्दा कम खर्च भएको छ । चालु आर्थिक वर्ष २०८१–२०८२ को साउनदेखि मंसिर महिनासम्ममा ११ दशमलव ४२ प्रतिशत अर्थात ७ अर्ब ३७ करोड १९ लाख २५ हजार रुपैयाँ बजेट खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, चालु आवका लागि प्रदेश सरकारले गत असार १ गते ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँका कार्यक्रम र योजना कार्यान्वयन गर्न बजेट ल्याएकोमा मंसिर मसान्तसम्ममा सो रकम मात्रै खर्च भएको पाइएको हो ।
विगतको आवमा जस्तै चालु आवमा विनियोजित बजेटमा पहिलो पाँच महिनामा चालुको तुलनामा पुँजीगततर्फका बजेट कम खर्च भएको जनाइएको छ ।
बागमती प्रदेशमा हरेक जसो आवमा चैतसम्म धिमा गतिमा बजेटमा खर्च हुने र हरेक आवको अन्तिम तीन महिना कुल बजेटको आधाभन्दा बढी बजेट खर्च हुने गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको भन्दै कात्तिकबाट मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको बताए ।
प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरूलाई विनियोजन गरिएको बजेटमा मंसिर मसान्तसम्ममा सबैभन्दा बढी प्रतिशत खर्च गर्नेमा प्रदेश व्यवस्थापिका र मुख्य न्यायाधिवक्ताको कार्यालय रहेका पाइएको छ ।