लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत सरोकारवालाबीच अन्तरक्रिया

तु खबर संवाददाता
२०८१ मंसिर २४, सोमबार १०:४४

मकवानपुर । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत आइतबार हेटौंडामा सरोकारवालाबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

‘हामी सबैको प्रतिवद्धता–लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ नोभेम्बर २५ देखि सुरु भएको ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा आयोजित अन्तरक्रिया जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको सभाध्यक्षता एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मन्त्री खड्कीले जबसम्म महिलालाई अगाडि बढाउन सकिन्न, तबसम्म महिलाहिंसा न्यून गर्न नसकिने बताइन् । महिलाहरु पनि यस देशका आधा अंग हुन् भनेर बुझ्नु जरुरी छ,’ मन्त्री खड्गीले भनिन् ।

महिलालाई घरपरिवारकै सदस्यबाट हिंसा हुने भएकाले महिलाहरु आफैंले आवाज उठाउनु आवश्यक रहेको उनले बताइन् । महिलाहिंसा एक चेतनामूलक अभियान स्कुल, कलेज, सार्वजनिक बसलगायत विभिन्न स्थानबाट सुरु गर्नुपर्ने उनले बताइन् ।

महिलाहिंसा न्यून गर्न सर्वप्रथम सामाजिक संघसंस्था जोडिनु अतिआवश्यक पाटो भएको जिल्ला समन्वय समिति मकवानपुर प्रमुख घलानले बताए । हाल मकवानपुरमा सामाजिक संघसंस्था क्रियाशील र प्रभावकारी भएको घलानले बताए । समाजमा जनचेतना फैलाउने, महिलालाई जागरुक बनाउन सामाजिक संघसंस्थाको निकै महत्वपूर्ण भूमिका रहेको उनको भनाई थियो ।

कार्यक्रममा गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, जिल्ला प्रहरी कार्यलय मकवानपुरका नायव उपरीक्षक श्यामु अर्याल, ओसीएमसी मकवानपुर प्रमुखलगायतको सहभागिता रहेको थियो ।