उपनिर्वाचन सफल बनाएकोमा कांग्रेस बागमतीद्वारा आभार
मकवानपुर । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाएकोमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले सबैप्रति आभार व्यक्त गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बुधबार एक सन्देश जारी गर्दै स्थानीय तहको उप–निर्वाचन, २०८१ उत्साहपूर्ण रुपमा सम्पन्न भएको बताए ।
‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमार्फत् निर्वाचित हुनुभएका सम्पुर्ण जनप्रतिनिधिहरु प्रति हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।’ सन्देशमा भनिएको छ । उप–निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं उत्साहजनक रुपमा सम्पन्न गर्न गराउन महत्वपुर्ण भूमिका निर्वाह गरेकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी तथा पर्यवेक्षक, मतदाता र पार्टी कार्यसमितिप्रति सभापति बानियाँले आभार व्यक्त गरेका छन् ।
मंसिर १६ गते बागमती प्रदेशमा एक नगर प्रमुख, एक गाउँपालिका उपप्रमुख र ५ जना वडाध्यक्ष गरी ७ स्थानमा निर्वाचन भएको थियो । जसमध्ये नेपाली कांग्रेसबाट किर्तिपुर नगरपालिकाको मेयर, किर्तिपुर– १, किर्तिपुर–४ र हेटौंडा–१२ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।