राष्ट्रपति पौडेल अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २५ गते अजरबैजान जाँदैछन् । उनी अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन त्यसतर्फ प्रस्तान गर्न लागेका हुन् ।
उनी अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
सम्मेलन यही कात्तिक २६ सुरु भई मङ्सिर ७ गतेसम्म संचालन हुनेछ । तर, राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भई यही कात्तिक ३० गते शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।