बागमतीका कृषि मन्त्रीद्वारा कृषि औजार कारखानाको अवलोकन

तु खबर संवाददाता
२०८१ कार्तिक २,शुक्रबार १६:२४

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले कृषि औजार कारखानाको अवलोकन गरेका छन् ।

मन्त्री श्रेष्ठले शुक्रबार वीरगंजस्थित राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित उक्त कारखानाको अवलोकन गरेका हुन् ।

सो क्रममा उनले कारखाना सञ्चालनका लागि सरकारले सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे । उनले बागमती प्रदेशका किसानहरूलाई आवश्यक पर्ने कृषि तथा अन्य औजारहरू स्थानीय स्तरमै उत्पादन गर्नुपर्नेमा जोड दिए ।

यसअघि चीन र भारत लगायत विदेशबाट आयात गरिने कृषि औजारहरू अब स्वदेशमै उत्पादन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

यस्तै, सो क्रममा राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर रितेश देवले केन्द्रमा भइरहेका कामबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

उक्त अवसरमा वन मन्त्री कृष्ण सिलवाल लगायतको टोलीले पनि कारखाना र आविष्कार केन्द्रको अवलोकन गरेको थियो ।