विपद्ः २१७ जनाको मृत्यु, २८ जना बेपत्ता
काठमाडौं । केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरो लगायत विपद्को घटनामा परेर हाल सम्म मृत्यु हुनेको संख्या दुई सय १७ जना पुगेको छ ।
असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षाका कारण आएको बाढी–पहिरोमा परेर दुई सय १७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, प्राकृतिक विपद्को घटनामा एक सय ४३ जना घाइते भएका छन् भने अझै २८ जना बेपत्ता रहेका छन् ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको उनले बताए ।
यस्तै, विपद् प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको पनि उनले बताए ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको उनले बताए ।